अनलाइन मार्केटिङको नाममा ठगी गर्ने चार जना पक्राउ
अनलाइन मार्केटिङमार्फत सामान पठाउने भनी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका– ३ पिप्राविर्ता घर भई वीरगञ्ज–१५ ब्रम्हचोक बस्ने २९ वर्षीय रोशन सिंह, भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगञ्ज– १५ बस्दै आएका २६ वर्षीय सविक भक्त र ब्रम्हचोकका फारुख आलम रहेका छन् ।
रोशन र बिशाल वीरगञ्ज –१५ बस्ने शम्भु सिंहको छोरा हुन भने सविक उनीहरुकै घरमा डेरा गरेर बस्दै आएका थिए । उनीहरुले फेक्टरी अनलाइन सपिङ क्लब एप्स बनाएका थिए ।
एप्समार्फत एप्पल कम्पनीको मोबाइल सस्तोमा उपलब्ध गराउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत मगाइदिने जस्ता झुठा आश्वासन दिँदै फेसबुक, वाट्सएप, ट्वीटर र म्यासेन्जर जस्ता सामाजिक सञ्जालहरुबाट प्रलोभनमा पारी सर्वसाधरणलाई ठगेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले जनाएको छ ।
ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजात र मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।











