मेयरमाथि हातपात भएको बिरोधमा सबै स्थानीय तहद्वारा सेवा प्रवाह बन्द
मेयरमाथि हातपात भएको बिरोधमा जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साह उपर हातपात भएको बिरोधमा जिल्ला १८ वटै स्थानीयले सेवा बन्द गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवका अनुसार डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जनाएको छ ।
डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको मेयर साहले बताएका छन् ।
मेयरमाथि भएको हमलाको बिरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो ।
सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।











