सरकारविरुद्ध नेविसंघले भोलि देशभर विरोध प्रदर्शन गर्ने

सरकारले जारी गरेको अध्यादेश फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले भोलि देशभर प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको हो ।
विहीबार नेविसंघले एक विज्ञिप्त जारी गर्दै अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शन गर्ने जनाएको छ ।
संघले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्ले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।
विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।











