हेटौंडा मेला – निशान र चेतनको साँगितिक प्रस्तुति ।
हेटौँडा,२५ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज आठौं दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज शनिबार मेलामा आज गायक निशान भट्टराईले भुन्टी…, मंसिर महिनामा…, भिजिट भिषामा…, पछि उमेर ढल्कीन्छ…, छोरी भन्दा आमा तरुनी… जस्ता गीत गाएर दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी लोकदोहारी गायक सुनिल थापा र गायिका रेखा लामाको दोहोरी घन्किएको थियो । आजकै मेलामा गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो प्रस्तुती दिएका थिए भने गायक तथा संगीतकार विक्रम कार्कीको व्याण्डले समेत आफ्नो साँगितिक प्रस्तुति दिएका थिए । भोली आईतबार गायक राजनराज शिवाकोटी, लोक दोहारी गायक शिव हमालको टोली सहित गायक सुजिल कर्माचार्यको साँगितिक कार्यक्रम रहने संघले जनाएको छ ।
आजको मेलामा करीब ३० हजार दर्शकहरुले मेला अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले बताएका छन् । दैनिक स्वास्थ्य शिविर सञ्चालन समेत गरिरहेको सो मेलामा आज हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक डा. कृष्णराज ढुङ्गानाको टोलीले १ सय २ जनाको निशुल्क आँखा परिक्षण गरिएको संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिएका छन् ।
मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ ।