हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।

हेटौडा न्युज
२९ फाल्गुन २०७५, बुधबार १३:१७
;

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला आज समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता माननीय ईन्द्र बहादुर बानियाँले समग्रमा मेला सफल भएको बताएका छन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले हेटौंडाबाट प्रदेशको राजधानी नसर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले खर्च गर्न नसकेको विकास बजेट निजी क्षेत्रमा सस्तो व्याजदरमा ऋण लगानी गरेमा नागरिकहरुले रोजगारी पाउनुका साथै व्यवसायीहरुले समेत राहत पाउने धारणा व्यक्त गरेका छन् । 
आयोजकका अनुसार आज सम्म करीब ५ करोड बराबरको कारोबार भएको र १ लाख दर्शकले अवलोकन गरेको संघका प्रवक्ता तथा सचिव काव्यमणि अधिकारीले बताएका छन् । यस पटकको मेलाको आम्दानीले संघले व्यवसायिक अतिथि भवन निर्माणमा खर्च गर्ने बताएको छ । कार्यक्रममा प्रदेश ३ का सभासद प्रेमबहादुर पुलामी, सन्त चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँ, हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्का, मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । 
औपचारिक रुपमा आज मंगलबार मेला समापन भएपनि भोलिसम्म मेला सञ्चालन हुने संघले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*