यसपटकको संविधान दिवस झण्डामय हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आश्विन ३ गतेको संविधान दिवसमा छातिको अगाडी र पछाडी पर्ने गरी नेपालको राष्ट्रिय झण्डा अंिकत कपडा लगाएर उल्लासमय रुपमा संविधान दिवस मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले देशलाई सबैले मुटुमा सजाउनु पर्ने र त्यसलाई देखाउन सांकेतिक रुपमा छातिको अघिल्तिर पर्ने गरी नेपाली राष्ट्रिय झण्डा भएमा अझै राम्रो हुने धारणा व्यक्त गरेका छन् । शहिदको बलिदान प्राप्त संविधानलाई साझा दिवसको रुपमा मनाउन तयारी गर्नु पर्ने बताएका छन् ।
आज बुधबार गृह मन्त्रालयमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधनमा प्रधानमन्त्री ओलीले हरेक नेपालीको घरमा नेपालको राष्ट्रिय झण्डा सहित दीपावली मनाउन आग्रह गरेका हुन् ।
आजको बैठकले आश्विन २, ३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ । दिवस सम्पन्न गर्न एक साता अघि देखि नै थाल्ने र कागज र कपडा बाहेकका झण्डा प्रयोग गर्न निषेध गरेको छ । दिवस मनाउनका लागि बेग्लाबेग्लै उपसमितिसमेत बनाइएको छ ।