रविको निवेदनमाथि उच्च अदालतको सुनुवाई
-1567581824.jpg)
सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच्च अदालत पाटन, हेटौंडाको १ नम्बर न्यायधीश टेकराज नेपालले कारण देखाऊ आदेश जारी गरेका छन् ।
आदेशमा सो आत्महत्याको विषयमा कुनैपनि सञ्चारमाध्यममा प्रकाशन, प्रसारण वा अभिव्यक्ति दिनमा गरिएको रोक, विदेश भ्रमणमा अनुमति र मुलुकी फौजदारी संहिता दफा ६८ बमोजिम प्रतिवादी बनाइएका लामिछाने र कँडेलबाट मुद्दा पुर्पक्षका लागि माग गरिएको धरौटी रकमको समेत स्पष्ट कारण र आधारको विषयमा प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको छ । आदेशमा जिल्ला अदालत, चितवनमा रहेको शुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेतलाई जानकारी दिई प्रस्तुत प्रतिवेदन पेश गर्न आदेश भएको लामिछाने र कँडेलको पक्षमा बहस गरिरहेका अधिवक्ता राजेन्द्र सेढाईले बताएका छन् ।
करीब २ साता भित्र प्रतिवेदन पेश हुने, सो पछि मुद्दाको विषयमा सुनुवाई हुने बताईएको छ । प्रतिवेदन पछिको लामिछाने र कँडेलको पक्षमा बरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरु सुनिलकुमार पोखरेल, रोजेन्द्र सेढाई र अमृतकुमार लामा समेतले बहस गर्ने बताईएको छ ।
गत भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी सञ्चारकर्मी लामिछाने र कँडेलले हिजो निवेदन दर्ता गराएका थिए ।