भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, घाईतेको उपचार हुँदै

मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटनामा परी एक शिशु सहित तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको मकवानपुर प्रहरीले जनाएको छ । सो दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
आज भीमफेदीको जुरिखेतमा ना१ज ३६४० नम्बरको भाडाको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको घटनास्थलमै र अन्य दुईको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाकोे जीप भीमफेदीको चिहानडाँडाबाट करीब १ सय मिटर तल झर्दा दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको भीमफेदी अस्पताल, हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । घाइते हुनेहरुमा सर्लाहीका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाइवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम र सिन्धुलीका दलबहादुर डिम्डुम सहित १ बालक रहेका छन् ।