मकवानपुरका दुई विद्यालय शिक्षा मन्त्रीबाट हस्तान्तरण
मकवानपुरमा प्राविधिक शिक्षा अध्यापन गराउने दुई विद्यालयका नवनिर्मित भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले विद्यालय व्यवस्थापन समितिलाई आज हस्तान्तरण गरेका छन् । भूकम्पबाट प्रत्यक्ष प्रभावित विद्यालय मध्ये हाल निर्माण सम्पन्न भएका विद्यालयको साँकेतिक साँचो मन्त्री पोखरेलले हस्तान्तरण गरेका हुन् । हस्तान्तरित विद्यालयहरुमा कैलाश गाऊँपालिकाको कालिका माध्यमिक विद्यालय र हेटौंडाको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) रहेका छन् । विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सीपयुक्त शैक्षिक सिकाई आजको आवश्यकता रहेको बताएका छन् । नेपालको विकास र समृद्धिका लागि ८० प्रतिशत प्राविधिक र २० प्रतिशत मात्रै सैद्धान्तिक शिक्षामा अगाडी बढेमा विकास सम्भव रहेको उनको भनाई रहेको थियो ।
आज हस्तान्तरण भएको कालिका माध्यमिक विद्यालयको भवन जापान सरकारको ऋण सहयोगमा १२ कोठे २ वटा भवन करीब ३ करोड ८१ लाख रुपैयाँमा निर्माण सम्पन्न भएका हुन् ।
त्यस्तै हेटौंडाको जनप्रिय माध्यमिक विद्यालयका ४८ कक्षा कोठा सहित चमेना गृह, शौचालय, छात्राबास सहितका ६ वटा भवन निर्माण भएका छन् । जनप्रिय प्राविधिक शिक्षालयमा कृषि, पशु, तथा बाली बिज्ञानका विषयहरु अध्यापन गराईदै आएको छ । सो ६ वटा भवनका लागि जापान सरकारको करीब १३ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको हो ।
कार्यक्रमहरुमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रतिनिधि सभाका सदस्यहरु विरोध खतिवडा, कृष्ण दाहाल, प्रदेश सभा सदस्यहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, ओम घलान लगायतको सहभागिता रहेको थियो । विद्यालय परिसरमा मन्त्री पोखरेललाई बाजागाजा सहित स्वागत गरिएको थियो ।