परियोजनाले कृषक छलफल गर्यो
मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानान्तरण प्रवद्र्धन परियोजनाले जनप्रतिनिधि र लाभग्राहीसँग छलफल तथा अनुगमन गरेको छ । नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेशनलको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा छलफल तथा अनुगमन गरिएको हो ।
मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट र हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला तथा हेटौंडा १६, जरुन र मनहरी ३ कौगेडी दमारका लाभग्राही तरकारी खेती तथा कुखुरापालक कृषकहरुसँग छलफल गरेको थियो ।
अनुगमन टोलीमा नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, उपाध्यक्ष सीता अधिकारी, सचिव कल्पना बिश्वकर्मा, कोषाध्यक्ष रेणु गुरुङ, कार्यकारी निर्देशक चिरञ्जीवि पौडेल, फिल्ड संयोजक कविता बिडारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
गत सन् २०१९ जनवरीदखि डिसेम्बरसम्म सञ्चालन हुने परियोजना हेटौंडा उपमहानगरपालिकाको १८ बाहेक १४ देखि १९ र मनहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मगरी जम्मा १० वटा वडामा सञ्चालित छ ।
परियोजना अन्तर्गत तरकारी खेती, कुखुरा तथा पशुपालन, बीऊविजन वितरण, मानव वेचबिखनसम्बन्धी सचेतनामूलक सडक नाटक, अभिमुखीकरण तालिम, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम गरिरहेको कार्यकारी निर्देशक चिरञ्जीवि पौडेलले बताएका छन् । परियोजनाले २१ जना कृषकलाई कुखुरा र ९० जना कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक सहयोग गरेको जनाएको छ ।