अबैध खयरको काठसहित २ जना पक्राऊ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गए राति करीब १ बजे अबैध खयरको काठ सहित २ जनालाई पक्राऊ गरेको छ । अबैध खयरको काठ लुकाई छिपाई ल्याएको भन्ने प्राप्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डमा बा.१० च. २७०६ नं को स्कार्पियो गाडीलाई चेकजाँच गर्दा खयरको काठ ५० वटा (करीब २४.४८ क्युवीक फिट ७३४ के.जी.) भेटिएको जनाएको छ ।
प्रहरीले सो गाडीका चालक बर्दिया, सैनिवार नगरपालिका वडा नम्बर ६ का वर्ष २७ को अमित साह र उक्त गाडीमा सवार मकवानपुर बकैया गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३२ को चक्रबहादुर योञ्जनलाई समेत नियन्त्रणमा लिएको छ । उक्त परिणामको खयर र पक्राऊ गरिएका दुबैजनालाई आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय हेटौडालाई बुझाईएको प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले जनाएका छन् ।