गाँजा तस्कर पक्रन प्रहरीले गोली चलायो, गोलीबाट ट्रक चालक घाईते
मकवानपुर प्रहरीले ७८ केजी ८ सय ग्राम लागूऔषध गाँजा सहित ट्रक चालक बीरगञ्जका अफ्रिका चौधरीलाई पक्राऊ गरेको छ । गतराति करीब १ बजे हेटौंडा वडा नम्बर १५ बाट बाराको पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला पारेको आज गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताएका छन् ।
प्रहरी टोलीले सो ट्रक चेकजाँच गर्न प्रहरी जवान संजिवकुमार दासलाई ट्रकको क्याबिन भित्र जाँच्न पठाउँदा प्रहरीलाई ट्रक भित्रै कब्जा गरी ट्रक भगाएका थिए । अपहरण शैलीमा प्रहरी जवान समेत कब्जामा लिएर ट्रक फरार भएपछि पछ्याउने क्रममा करीब ३ किलोमिटर पर नयाँबस्ती सडक खण्डको जङ्गलभित्र प्रहरी जवान दासलाई चालक सहित अर्को एकजनाले पिट्दै लगेको देखेपछि प्रहरी जवान छुटाउन प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो । गोली लागी ट्रक चालक चौधरी घाईते भएका छन् भने ट्रकमा सवार अन्य सबै फरार भएका छन् । चालक चौधरीको खुट्टामा गोली लागेको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सो घट्नामा दुईजना प्रहरी समेत घाईते भएका छन् ।
पक्राउ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही हुने र लागूऔषध ओसारपसारमा प्रयोग भएको सवारी जफत हुने प्रहरीले जनाएको छ ।