बडादशैंको टीकाको साईत बिहान १०:३५ मा
आजबाट बडादशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो । घटस्थापनाको साइत खोज्नेहरुका लागि भने नेपाल बिहान १० बजेर ३५ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिशेक पनि लिने चलन छ । यसपाली असोज २१ गते मंगलबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको समितिले जनाएको छ । त्यही दिन बिहान ८ बजेर ४५ मिनेटमा आज घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई बिसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।