बुधबारबाट हेटौंडामा NTC को फोर जी चल्ने, सपोर्ट नगर्ने सिमलाई यसरी परिवर्तन गर्नुस्
मोबाईल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आउँदो बुधबारबाट हेटौंडासहित देशका २६ वटा शहरमा चौथो पुस्ताको मोबाइल सेवा अर्थात ‘फोरजी’ सेवा शुरु गर्ने भएको छ । फोरजी सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।
फोरजी सेवा लिनका लागि नेपाल टेलिकमले आफ्ना ग्राहकलाई हाल सञ्चालनमा रहेको सिमबाट फोरजी सेवा चल्ने वा नचल्ने बारे जानकारी लिन समेत आग्रह गरेको छ । टेलिकमले फोरजी सेवा नचल्ने सिमका लागि निशुल्क परिवर्तन गर्ने भएको छ । टेलिकमले फोरजी सेवा सपोर्ट गर्ने वा नगर्ने जान्न स्टार ४४४ र ह्यास (*444#) डायल गर्नुपर्ने जनाएको छ । फोरजी सेवा नचल्ने सिमका लागि नजिकैको टेलिकम कार्यालयबाट निःशुल्क रुपमा फोरजी सिम लिन सकिने भएको छ ।
नेपाल टेलिकमले बुधबारदेखि हेटौंडासहित विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, भरतपुर, बुटवल, दमक, बिर्तामोड, धरान, नेपालगञ्ज, धनगढी, रुकुम, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, बाग्लुङ, महोत्तरी, पाल्पा, पर्वत, रौतहट, सिरहा, बर्दिया, दाङ र धनकुटामा ‘फोरजी’ सेवा शुरु गर्दैछ । टेलिकमले हाल दुई शहर काठमाडौ उपत्यका र पोखराका करीब ८ लाख ग्राहकलाई फोरजी सेवा उपलब्ध गराइसकेको छ ।