कोहलपुरको अवस्था तनावपुर्ण, स्थानीय प्रशासनको कफ्र्यू, विद्यार्थीको प्रदर्शन जारी
बाँकेको कोहलपुरको स्थिति तनावपुर्ण भएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । प्रशासनले कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, पश्चिममा किरननाला, उत्तरमा चिसापानी र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो ।
प्रशासनको कफ्र्यू अदेश भएपनि स्थानिय विद्यार्थीहरुले प्रदर्शन भने जारी राखेका छन् ।
त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट घाइते भएपछि घटनाको विरोधमा स्थानीयले टायर बालेर सडक अवरूद्ध गर्दै ट्रकमा आगजनी समेत गरेका थिए ।
अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र विद्यार्थीबीच झडप हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही सहित ९ प्रहरी र केही विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रर्णमा लिन केही राउण्ड हवाई फायर पनि गरेको छ ।