बैंकिङ सेवामा हड्तालजन्य कार्य नगर्न उच्च अदालत पाटनको आदेश

बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु ।”
बैंकिङ सेवा सर्वसाधारण नागरिकको सुविधासँग सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्र अनुसार यस्तो अतिआवश्यक सेवामा सङ्लग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा जनाइएको छ ।
नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।