अवैध क्रसर उद्योगका कारण सडक र पुलहरु जोखिममा
अवैध क्रसर उद्योगका कारण सिन्धुलीमा बीपी राजमार्गका पक्की पुलहरु जोखिममा पर्न थालेका छन् ।
सिन्धुलीको सुनकोशी, कमलाखोच र मरिण क्षेत्रमा मापदण्ड विपरित अवैध रुपमा संचालन भइरहेको क्रसर उद्योगका कारण बीपी राजमार्गका पक्की पुलहरु जोखिममा पर्दै आएका छन् ।
सडक र पुल नजिकै नदीजन्य पदार्थ गिट्टी, बालुवा, रोडा र ढुंगाहरुको अवैध उत्खनन् भइरहेकाले विपी, मदन भण्डरी र मध्यपहाडी राजमार्ग जोखिममा परेका हुन् ।
केही स्थानीय तहहरुले संचालनको अनुमति दिएको त्यस्ता क्रसर उद्योगका कारण वातावरणमा समेत नकारात्मक असर परेको स्थानीयको गुनासो छ ।
सरकारी निकायले अनुगमन र नियमन गर्न नसक्दा सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर, मरिण, हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका विभिन्न स्थानमा तीन दर्जनको हाराहारीमा अवैध क्रसर सञ्चालनमा रहेका छन् ।