दाङका प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलना मुद्धा
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलनाको मुद्धा दर्ता भएको छ । प्रहरी उपरीक्षक जनक भट्टराई र प्रहरी कार्यलय विरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदालतको अवहेलनाको मुद्धा दर्ता भएको हो ।
विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले धरौटीमा छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा लछारपछार गर्दै फेरि गिरफ्तार गरेको भन्दै प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालयविरुद्ध अवहेलनाको मुद्धा दर्ता भएको हो ।
मुद्धा दर्ता गराउनेमा घोराही-१६ की शिबा बोहरा, घोराही १७ की छिमा पुन, तुलसीपुर १२ की सीता ओली र लमही ३ का उमिरलाल चौधरी रहेका छन् । अदालतले धरौटीमा छोडेका व्यक्तिलाई नियन्त्रणमा लिने कार्यले अदालतको अवहेलना भएको भन्दै उनीहरुले प्रहरी विरुद्ध मुद्धा दर्ता गराएको हो । निवेदनमा अवहेलना गर्नेहरुमाथि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।
गएको असोज ३० गते विप्लव समूहका २१ जना नेताहरुलाई पक्राउ गरिएको थियो । अदालतले पुस ७ गते जनही १५ हजारका दरले धरौटी माग भएको तर फेरि पक्राउ पर्ने भएपछि उनीहरु कारागार गएका थिए ।