राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी अन्तिम चरणमा

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार १८:१८
;

जलस्रोतको बहुउपयोगका लागि बाटो खोल्ने गरि  सरकारले तयार पारेको ‘राष्ट्रिय जलस्रोत नीति’ ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नीतिको मस्यौदाबारे आइतबार  मन्त्रालयमा छलफल गरेपछि आवश्यक काँटछाँट गरी दुई हप्ताभित्र संशोधित मस्यौदा बुझाउनजल तथा ऊर्जा आयोगको सचिवालयलाई निर्देशन दिएका छन् ।

पानी समृद्धिको आधार भएको चर्चा गर्दै आउँदा धेरै पुस्ताका लागि समेत वर्तमान पुस्ताले जलस्रोतको संरक्षणमा ध्यान दिनु पर्नेमा मन्त्री पुनले जोड दिएका छन् ।  

नेपालमा वार्षिक झण्डै दई सय अर्ब घनमिटर पानी विभिन्न नदी नालाबाट तथा १० अर्ब घनमिटर पुनर्भरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ । तर उपलब्ध जलस्रोतमध्ये १० प्रतिशत मात्र उपयोगमा छ ।

आउँदो सन् २०३० सम्म हासिल गर्नुपर्ने संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हालिस गर्नका लागि जलस्रोतको विकास र व्यवस्थापन प्रत्यक्षरुपले जोडिएकाले नयाँ नीति आवश्यक परेको मन्त्रालयले जनाएको छ । 

नीतिले जलस्रोतको दिगो व्यवस्थापनका लागि जलाधार एवं भूमिगत जलस्रोतको पुनर्भण्डारण क्षेत्रको संरक्षण गरि जलमा आधारित जीव, वनस्पति आदिले युक्त प्राकृतिक वातावरण तथा धार्मिक, सांस्कृतिक सम्पदा र सामाजिक वातावरणको संरक्षण गर्ने उद्देश्य लिएको छ ।

मन्त्री पुनले संसदको आगामी अधिवेशनबाट नीति पारित गरिने बताएका छन्  । मस्यौदालाई अन्तिम रुप लिएर तत्कालै मन्त्रिपरिषद् हुँदै सरकारले नीति अनुमोदनका लागि संसदमा लैजाने उनले बताए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*