राजधानीका लागि हेटौंडा नै उचित, विकल्प छैनः प्रम ओली

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार २१:१८
;

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को राजधानीका लागि हेटौंडा नै उचित रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको बताएका हुन् ।

आज मंगलबार नेकपाका प्रदेश सांसदहरु संग भएको छलफलमा अध्यक्ष ओलीले ‘चुपचाप राजधानी हेटौंडा’ मान्न निर्देशन समेत दिएको जनाइएको छ ।

आलीले भने ‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई प्रदेशको राजधानी मानेर जानुस ।’ 

हेटौंडालाई प्रदेशको राजधानी बनाउने विषय जटिल बन्दै गएकाले  नेकपाका प्रदेश सांसदहरुको तीन समूहमा सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं हिडेका थिए ।
 
आज मंगलबार मुख्यमन्त्री निवासमा हुने भनिएको नेकपाको संसदीय दलको बैठक छोडेर हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं गएका थिए । 

प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेश ३ का सचिव नारायण दाहाल लगायतको टोली बैठक छोडेर काठमाडौं गएको थियो ।

उनीहरुले आज मंगलबार केपी ओली, माधवकुमार नेपाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । नेकपा केन्द्रीय सचिवालले गत आइतबार प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि राजधानीको विषयमा विवाद चुलिँदै गएको छ ।

विवादले हेटौंडामा ३ दिनसम्म चलेको संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको थियो । नामको विषयमा अधिकांश सांसदहरुले सहमती जनाएपनि राजधानीको विषयमा विवाद गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*