इराकमा रहेका नेपाली भन्छन् :- इराकमा त्रास बढेको छ, छिट्टै नेपाल फर्किन चाहन्छौँ

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार २०:३४
;

म इराक आएको ६ वर्ष हुन लाग्यो। यहाँ आउँदा २० वर्षको थिएँ। इराकी संसद् भवनमा काम गर्छु।

इराकका राजधानी बगदादको सबैभन्दा सुरक्षित क्षेत्रको रुपमा रहेको ग्रिन जोनभित्र संसद् भवन छ। यो ग्रिन जोनभित्र अन्य सरकारी कार्यालय र विभिन्न देशका दूतावास पनि छन्।

हामी बस्ने होस्टेल र अफिसबीचको दूरी जम्मा पाँच मिनेटको मात्रै छ। यहाँबाट हामी बाहिर निस्किँदा सुरक्षाकर्मीको साथमा मात्रै जान्छौँ। केही सामानको अभाव भयो भने मात्रै बाहिर जाने हो। गत ६ वर्षमा म खासै बाहिर निस्केको छैन।

यहाँ हामी ९ जना नेपाली छौं। म झापाको हुँ। मोरङ, सिन्धुपाल्चोक, रुकुम र रोल्पाको साथीहरु हुनुहुन्छ। हामी सबै संसद् भवनमा सहयोगीको रुपमा काम गर्छौँ। यहीँ ३ पाकिस्तानी र ४४ बंगलादेशी पनि छन्।

सुरुमा नेपाली एक सय २० जना थिए। धेरै घर फर्किसके। धेरैजसो मानिस ४–५ वर्ष यहाँ काम गरेपछि फर्किने गर्छन्। मेरो पनि सम्झौता सकिन ६ महिना मात्र बाँकी छ। यसबीचमा म एक पटक मात्र घर गएँ।

आफूसँग काम गर्ने बाहेक इराकमा अन्य नेपाली कति छन्, तिनको अवस्था कस्तो छ, हामीलाई केही थाहा छैन। कहिलेकाँही बजार जाँदा नेपाली भेटिन्छन्। केही कुराकानी हुन्छ। स्थानीयहरुसँग सम्पर्क गर्न पाइदैन। ग्रिन जोनभित्र रहेको जापानी दूतावासमा समेत नेपाली सुरक्षागार्ड रहेको सुनेको छु। तर हाम्रो भेट भएको छैन।

ग्रिन जोनबाहिर रहेको बेबिलोन होटलमा एक सयभन्दा बढी नेपाली काम गर्छन् रे। बग्दाद बाहिर धेरै नेपाली छन्। घरेलु कामदारका रुपमा नेपाली चेलीहरु पनि यता आएका छन्।

जनवरी १ का दिन नयाँ वर्षको खुसीयाली मनाउने तयारी हामीले गरेका थियौँ। यहाँका सुरक्षाकर्मीलाई भन्यौँ। मंगलबार खसी ल्याउने र नयाँ वर्षको दिन बुधबार काट्ने सल्लाह भएको थियो। तर, मंगलबार र बुधबार ठूलो प्रदर्शन भयो। ग्रिनजोनमा रहेको अमेरिकी दूतावासभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गरे। हाम्रो अफिसभन्दा आधा किलोमिटर मात्रै पर हो त्यो ठाउँ। हामी ड्युटीमा थियौं। त्यो टेलिभिजनमा लाइभ हेर्‍यौं। सुरक्षाका कारण हामीलाई ग्रिन जोनमा हिँड्ने अनुमति छैन।

त्यसयता अलि बढी नै तनाव महसुस भएको छ। त्यो प्रदर्शनमा अमेरिकाले इरान सरकारको हात रहेको आरोप लगाएको छ।

त्यसको दुई दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानी सेनाका जर्नेल मारिएका छन्। त्यसपछि झनै तनाव बढेको छ। नेपाली मात्रै होइन इराकी समेत डराएका छन्। अमेरिका र इरानको तनावको चेपुवामा परिन्छ कि भन्ने भएको छ। त्यसले झनै चिन्ता बढाएको छ। इरानले क्षेप्यास्त्र प्रहार गर्‍यो भन्ने सुनेका छौँ।

अहिलेको हाम्रो चाहना जति सक्यो चाँडो इराक छाड्ने भन्ने नै हो। परिवारबाट पनि घर फर्किन निरन्तर रुपमा दबाब आइरहेको छ। नेपालका युट्युवेहरुले पनि धेरै आतंकित बनाएका छन्।

अब सबैथोक सकियो, अहिले नै युद्ध हुन्छजस्तो गरी उनीहरुले भिडियो देखाइरहेका छन्। सानो कुरालाई कत्रो ठूलो बनाएर प्रस्तुत गर्छन्। त्यसले हाम्रो घर परिवारमा ठूलो त्रास उत्पन्न गरेको छ। तर, हामी परिवारसँग निरन्तर सम्पर्कमा छौँ।

इराकी अधिकारीहरुले पनि परिस्थिति झनै बिग्रिँदै गयो भने नेपाल फर्काइदिने बताएका छन्। हामी परिस्थितिले कस्तो रुप लिन्छ भनेर हेरिरहेका छौँ।

सरकारले इराकमा रहेका नेपालीहरुलाई अप्ठेरो पर्‍यो भने उद्धार गर्ने जनाएको छ। तर अहिलेसम्म हामीसँग कसैले सम्पर्क गरेको छैन। कसरी उद्धार गर्न भन्ने बारेमा जानकारी पनि छैन। हामीलाई साँच्चिकै अप्ठेरो पर्‍यो भने तपाईंले सरकारसम्म हाम्रो कुरा पुर्‍याइदिन सक्नु हुन्छ कि हुन्न ?  स्रोत: नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*