मकवानपुरका साग पदक विजेताहरुलाई सम्मान
१३औं दक्षिण एसियाल खेलकुद (साग)मा पदक जित्न सफल मकवानपुर जिल्लाका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित १३ जनालाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले संयुक्तरुपमा मंगलबार खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्दै हेटौंडा–४ स्थित हुप्रचौरबाट नेपाली सेनाको न्याउली बाजा र पञ्चे बाजासहित हेटौंडा बजार परिक्रमा गराईएको हो ।
मकवानपुरबाट सागमा चार जनाले स्वर्ण, चार जनाले रजत र पाँचजनाले कांस्य पदक जित्न सफल भएका थिए । जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले स्वर्ण पदक विजेतालाई एकलाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिले स्वर्ण पदक विजेतालाई नगद २५ हजार, रजत पदक विजेतलाई २० हजार र कांस्य पदक विजेतलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । उसुमा रजत पदक जिताउन सफल प्रशिक्षक विमल थापालाई पनि नगदसहित सम्मानित गरिएको छ ।
खेलाडी तथा प्रशिक्षकहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।