टाउको काटिएको अवस्थामा एक महिलाको शव फेला
सप्तकोशी नदी नजिकै एक जना महिलाको टाउको काटिएको अवस्थामा शव फेला परेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।
मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले सडेको अवस्थामा शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ ।
सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको र शवको पहिचान हुन नसकेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिएका छन् ।
विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो ।
अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको डीएसपी शर्माले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।