खानेपानी मन्त्रालयको मोटरसाइकल झाँडीमा अलपत्र, प्रहरीले फोटो मात्र खिचेर लगेः स्थानिय
गोरखा नगरपालिका–३ होलसिङमा सरकारी नम्बर प्लेटको मोटरसाइकल वेवारिसे अवस्थामा फालिएको छ । लामो सयमदेखि बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल झाँडीमा अलपत्र अवस्थामा छाडिएको स्थानीयले बताएका छन् ।
मोटरसाइकल खानेपानी तथा सरसफाइ मन्त्रालयको रहेको बताइएको छ । मोटरसाइकल सोहि ठाउँका नवराज अर्यालले ल्याएर छाडेको स्थानीयको भनाइ छ ।
अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे तर ६ महिना अगाडी नै अर्यालले जागिर छाडेको मन्त्रालयले जनाएको छ । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता रहेका छन् ।
‘अर्यालले यो मोटरसाइकल दशैंअघि नै यही नजिकैको दशमुरे खोलामा छाडेको थियो,’ स्थानीय मायानाथ अर्यालले भने, ‘कसले खोलामा पल्टाइदिएछ, यही गाउँका मान्छेले खोलाबाट उठाएर यता राखिदिए ।’ उक्त मोटरसाइकल सम्बन्धित निकायमा बुझाइदिन आग्रह गरे पनि नवराजले वेवास्ता गरेको स्थानीयले बताएका छन् ।
स्थानीय डम्बरबहादुर दमाइका अनुसार ‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग बनाएर राखेको छ,’ प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको बताएका छन् ।