सब–इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हेटौडा न्युज
५ माघ २०७६, आईतवार २०:३०
;

सल्यानको बागचौर नगरपालिकाका तत्कालीन सब–इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बागचौर नगरपालिकाअन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियारले सब–इन्जिनियर थमन योगीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सब–इन्जिनियिर योगी र सहायक सब–इन्जिनियर तोरण बहादुर विष्टले आयोजनामा बढी लागत देखाउने, शर्त तथा मापखण्डविनै सडक निर्माण गर्न लगाउने तथा झुटा बिल भर्पाइ बनाइ ७७ हजार ७ सय ७५ रुपैयाँभन्दा बढी भुक्तानी दिने गरेको अख्तियारले जनाएको छ । 

अख्तियारले सडक निर्माणका आयोजना समितिका ४ जना पदाधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

अख्तियारले सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टसँगै आयोजना निर्माण समितिका अध्यक्ष डिम्बर बहादुर कामी, कोषाध्यक्ष कर्ण बहादुर विक तथा सचिव अनिता विकविरुद्ध ७७ हजार ७ सय ७५ रुपैयाँ बिगो कायम गरी र बिगोअनुसारको जरिवाना मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सब–इन्जिनियर योगी र सहायक सब–इन्जिनियर विष्टको हकमा १ वर्ष कैद र थप ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको जनाईएको छ । 

अख्तियारले उक्त सडक निर्माण आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी नभएको कामको पनि काम भएको भनी गलत लिखत तयार पारेको अभियोगमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष घनश्याम शर्मालाई समेत प्रतिवादी बनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*