गोकर्ण मलाई देऊ, यतिले भन्दा ५० करोड बढी म दिन्छुः रायमाझी

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले यती होल्डिङ्सलाई दिएको गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रायमाझी यतीले दिएको भन्दा ५० करोड बढी रकम आफूले तिर्ने गरी गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन भनेका हुन् ।
आइतबारको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अहिले यतीले दिएको भाडामा ५० करोड रुपैयाँ थपेर दिने गरी लिजमा आफुले लिने बताएका हुन् ।
बैठकमा बोल्दै रायमाझीले भने ‘म सरकारलाई प्रस्ताव राख्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिइएको छ, त्योभन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार मलाई दिन तयार छ ’ । ‘छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ’ उनले अघि भने ।
सरकारले हालै मात्र सम्झौता अबधि झण्डै ६ वर्ष बाँकी रहँदा गोकर्णको जग्गा थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।
सांसद रायमाझीले ओलीलाई आफूहरुले देशको प्रधानमन्त्रीका रुपमा देख्न चाहेको तर उहाँ एउटा निजी कम्पनीको कार्यकारी निर्देशकले झै काम गरेको आरोप लगाएका छन् ।