बलात्कार पछि हत्या प्रकरणका दोषीलाई जन्मकैद
सामुहिक बलात्कार पछि हत्या गरीएकि कैलालीकी माया विक प्रकरणमा दोषीहरुलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । बुधबार न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले सामुहिक बलात्कार पछि हत्या प्रकरणमा दोषीहरुलाई जन्मकैदको फैसला सुनाएको हो ।
कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । २०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो । पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो ।
पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलाइएको थियो । प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ बमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ । यसो हुँदा उनीहरुले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ ।
त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारवाही हुनेछ ।
अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला भएको अदालतले जानकारी दिएको छ । अदालतको फैसलापछि पीडित परिवारले ढिलै भएपनि न्यया पाएको प्रतिकृया दिएका छन् ।