गच्छदार दोषी भए बेहोर्नुपर्छ, सरकारको के लाग्छ त बाबा ! : मन्त्री बास्कोटा
कांग्रेस उपसभापति विजय गच्छदार दोषी ठहरिए बेहोर्नुपर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलले सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै सदन अवरुद्ध गरेपछि सरकारका प्रवक्त बास्कोटाले बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै त्यस्तो बताएका हुन् ।
“बालुवाटार प्रकरणमा एक प्रकारले भन्ने हो भने सरकारको काम सकिएको छ । अब अदालतमा गएको छ, अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने हो,” उनले भने, “पूर्वाग्रहको कुरा छैन । आरोपित हुँदैमा बेहोर्नुपर्दैन, भोलि प्रमाणित नभएमा सरकराले फेरि समातेर जेल हाल्दैन । दोषी देखिए सरकारको के लाग्छ त बाबा !”
उनले नेकपाका महासचिव विष्णु पौडेलको छोरा नवीन पौडेलसहित ६२ जनाले जग्गा फिर्ता गर्नुपरेको प्रसंग कोट्याउँदै बास्कोटाले भने, “उहाँहरू त्यसमा संलग्न होइन । कति औं नम्बरमा किनबेच भएको हो । उहाँहरूलाई नक्कली स्रेस्ता भिडाए होलान् । प्रक्रिया सुरु भएको छ ।”