तरुण दलको नाराः ‘कठै अख्तियार, नेकपासामु लम्पसार’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ ।
तरुण दलको संयोजनामा काठमाडौँको माइतीघरबाट सुरु भएको विरोध प्रदर्शनमा अन्य भ्रातृ संस्थाका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।
उनीहरुले ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।
माइतीघबाट सुरु भएको विरोध र्याली नयाँबानेश्वरसम्म पुगेको थियो । यसैगरी तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर काँग्रेस उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै काँग्रेस आन्दोलित छ ।
काँग्रेसको निर्देशनमा उसको भ्रातृ संस्थाहरु अख्तियारको कदमविरुद्ध सडकमा उत्रिएका हुन् । काँग्रेस यसको विरुद्धमा संसद पनि अवरुद्ध गर्दै आएको छ ।स्रेत: रातोपाटी