बेरोजगारका लागि २ अर्ब रुपैयाँ पालिका पठाइयो
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ सय २३ पालिकालाई दुई अर्ब रुपैयाँ अनुदान पठाएको छ ।
कार्यक्रममार्फत पालिका स्तरमा कामका लागि पारिश्रमिकका आधारित सामुदायिक योजना सञ्चालन गर्न आयोजना र बेरोजगारको सूची समेत तयार गरेका ६ सय २३ पालिकालाई सशर्त अनुदानका रुपमा २ अर्ब रुपैयाँ पठाइएको श्रम मन्त्रालयले जनाएको छ ।
आयोजना र बेरोजगारको सूचीको मूल्याङ्कनका लागि कम्तिमा १० लाखदेखि बढीमा ७५ हजार रुपैयाँसम्म रकम बाँडफाँड गरी रकम पठाइएको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ४ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जसमा विश्व बैंकबाट २ अर्ब ६२ करोड ऋण सहयोग प्राप्त हुनेछ ।
कामका लागि पारिश्रमिकमा आधारित कार्यविधि अनुसार पालिकाहरुलाई आयोजना र बेरोजगार संख्याका साथै बजेट समेत अनुमान गरी प्रस्ताव पठाउन अनुरोध गरिएको र त्यसमध्ये ६ सय २३ पालिकाबाट मात्रै प्राप्त भएकाले प्रस्ताव पठाउने पालिकाहरुलाई मात्रै बजेट पठाइएको हो ।
अरु पालिकाले प्रस्ताव पठाएपछि मात्रै बजेट पठाउने र नपुग बजेट सरकारको अन्य स्रोतबाट व्यवस्थापन गर्ने श्रम मन्त्रालयले जनाएको छ ।