३३ किलो गाँजासहित एक भारतीय हेटौंडाबाट पक्राऊ
३३ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी भारत, पश्चिम चम्पारण, बेतिया गौरीकोटका ४० बर्षीय भगवादास यादवलाई सो परिणामको लागूऔषधसहित सार्वजनिक गरेको हो ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नेवारपानीमा प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको प्रहरी टोलीले उनलाई पक्राऊ गरेको हो ।
प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा आउँदै गरेको जेएच ०९ ए ८३६१ नम्बरको भारतीय कार चेकजाँचको क्रममा लागूऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक अमरप्रसाद गजमेरmका अनुसार पक्राउ परेका उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्ष सम्म कैद, १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र लागूऔषध ओसारपसारमा प्रयोग भएको सवारी जफत हुने जनाएको छ ।