१७ वर्षीय छोरीलाई करणी गर्ने हेटौंडाका बाबुलाई ३७ वर्ष कैदको फैसला
छोरीलाई बलात्कार गरेको ठहर गर्दै बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार यस्तो फैसला गरेको हो ।
अभियुक्त पिता हेटौंडा उपमहानगरपालिका—८ निवासी ४९ वर्षीय रहेको जिल्ला अदालतले जनाएको छ । । १७ वर्षीया छोरीलाई घरमा सुतिरहेको बेला छुरी देखाएर २०७५ चैत २ गते बलात्कार गरेका थिए ।
अदालतले एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ ।
बाबुबाटै बलात्कृत भएपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ पुगेर घट्नाबारे सबै जानकारी गराएपछि बालिका बलात्कृत भएको कुरा सार्वजनिक भएको हो ।
आफन्तको सहयोगमा चैत ११ गते बाबुलाई कारबाही गर्न किशोरीले जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिइएकी थिइन् । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा कैदको सजाय भोगिरहहेका छन् ।