गोकुल बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्नेः गृहमन्त्री थापा
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले यस विषयमा सरकारले छानबिन गर्ने बताएका हुन् ।
गृहमन्त्री थापाले भने, प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ, यो प्रकरणको सरकारले छनबिन गरेर समाधान गर्छ । सेक्युरिटी प्रेससँग जोडिएको विषय भएकाले सरकारले यसमा छानबिन गर्ने उनले बताएका हुन् ।
अन्तराष्ट्रिय तथ्यांकमा देशको सुरक्षा स्थिति पहिलेको भन्दा सुधार भएको दाबी गर्दै उनले समृद्धि र विकासका लागि सरकारले धेरै राम्रा काम थालेको बताए छन् । उनले भने गत वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकाले देश विकासको गतिमा रहेको देखिन्छ, ७ प्रतिशत भन्दामाथि आर्थिक विकास भएको देश संसारमा कमै मात्र रहेको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी, प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख लगायतको सहभागिता रहेको छ ।