ब्ल्याकपिङ्क र लेडी गागाबीच सहकार्य हुने, सांगीतिक दुनियाँ तरङ्गित

कोरियाको चर्चित केपप समूह ब्ल्याकपिङ्क र लेडी गागाबीच सहकार्य हुने समाचार बाहिर आएको छ । पछिल्लो चर्चासँगै सांगीतिक दुनियाँ तरङ्गित बनेको छ ।
बुधबार बेलायतको रेडियो च्यानल क्यापिटल एफएमले लेडी गागा र ब्ल्याकपिङ्कबीच सहकार्य हुन सक्ने भन्दै समाचार प्रसारण गरेको हो । ब्ल्याकपिङ्कले लेडी गागाको नयाँ एल्बममा फिचरिङ गर्ने भनेर क्यापिटल एफएमले बताएको छ ।
उक्त समाचार लगत्तै ब्ल्याकपिङ्कसँग जोडिएको वाइपी इन्टरटेनमेन्टले प्रतिक्रिया दिएको छ । ‘ब्ल्याकपिङ्कले धेरै प्रोजेक्टमा काम गरिरहेको छ’, वाइपी इन्टरटेनमेन्टले भन्यो, ‘पछिल्लो समाचारलाई अहिले नै पुष्टि गर्न गाह्रो छ, त्यसैले केही समय कुर्नुहोला ।’