एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने
एटीएम बुथबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले कारोवारलाई निःशुल्क बनाउने भएको हो ।
बैङ्कहरुले कारोवारलाई डिजीटल बनाउनका लागि एटीएम सेवालाई निःशुलक बनाएको हो । यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो ।
अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा निःशुलक प्रयोग गर्न सकिने भएको छ ।
बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम गर्ने उद्देश्यका साथ बैंकहरुले विद्युतीय कारोबारहरुलाई जोड दिएका छन् । बैङ्कले एटीएम संगै मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय गरेका छन् ।
नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ। यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन् ।
शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक बैंक शाखामा नजान आग्रह गरेको छ ।
बैंकरहरुले नोट (पैसा) बाट अत्यन्त चाँडो र सजिलै भाइरस संक्रमण हुने जोखिम भएको भन्दै नगद कारोबार सकेसम्म कम गर्न आग्रह गरेका छन् ।
विश्वव्यापी रुपमै नगद पैसाको कारणले रोगको संक्रमण छिटो भएको ‘रिपोर्टिङ’ भएको छ । तर, विश्व स्वास्थ्य संगठनले भने दश दिनअघि बक्तव्य नै निकालेर नोटका कारण भाइरसको तीव्रता नबढेको बताएको थियो ।
नेपाल बैंकर्स संघले सरकारी निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ । एटीएम बुथमा पहिलेभन्दा बढी पैसा लोड गरिने र एटीएम बुथको नियमित अनुगमन बढाइने जनाएको छ ।
एटीएम बुथको सफाइमा पनि पहिलेभन्दा बढी ध्यान दिन हामीले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।