मकवानपुर प्रशासनको फितलो अनुगमनः खाना पकाउने ग्यासमा ठगी, ७ किलो किन्दा ८ सय ग्राम घटी

गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि सरकारले अत्यावश्यक अवस्था बाहेक यातायात, हिडडुलमा समेत प्रतिबन्ध गरेको छ । लकडाउन भएपछि इन्धन लगायतको आपूर्ति थोरै भएको छ । सरकारले खाना पकाउने ग्यास आजबाट प्रत्येक सिलिण्डरमा आधा ग्यास बजार पठाउने निर्देशन गरेको छ ।
तर मकवानपुर जिल्लामा आजबाट बजार आईपुगेका आधा सिलिण्डर ग्यासहरुको तौल घटी रहेको फेला परेको छ ।
आजबाट आएको चितवनको बाबा ग्यास, मकवानपुरकै सहारा ग्यास उद्योगहरुले वितरण गरेको ग्यास उल्लेख गरिएको तौल भन्दा घटी रहेको फेला परेको हो । आजबाट बजारमा बिक्रीका लागि बाबा ग्यास उद्योगले पठाएको आधा सिलिण्डर ग्यासमा ७ दशमलब १ किलो हुनु पर्नेमा ६ किलो २ सय ७० ग्राम (८ सय ३० ग्राम) घटी फेला परेको छ भने सहारा ग्यास उद्योगले पठाएको ग्यासमा ३ सय ग्रामसम्म घटी फेला परेको छ ।
यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले बजारमा उपभोक्ताहरु ठग्ने उद्योगहरुलाई कार्वाही हुनु पर्ने माग गरेका छन् ।
तौलमा कैफियत गर्ने उद्योगलाई कालो बजारी अन्तर्गत कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन् । तौल घटी रहेका सबै ग्यास सिलिण्डरहरुलाई घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।