प्रधानमन्त्री ओलीको संकटको घडीमा नआत्तिइ सुरक्षित रहन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरीकहरुलाई नआत्तिइ सुरक्षित रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार देशवासीको नाममा संबोधन गर्दै विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम रहेकोले विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई नआत्तिन र आफू बसेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले संबोधन माफ्त भने विश्वव्यापी रुपमा संक्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा संक्रमण देखा परेको छ, केहीको दुःखद निधनसमेत भएको छ, लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित रहेका छन् ।
यस संकटको घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव सबैमा रहेकाछ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन्। गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन्ू, प्रधानमन्त्रीले भने, नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद शुरू गरेको छु । मेरो आग्रह छ– संकटको वर्तमान घडीमा जो जहाँ छौं, त्यहीँ सुरक्षित रहौँ।