साढे २ लाख जरिवाना तिरेपछि हेटौंडाको मणी खाद्यान्नको खोलियो शील

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १९:३९
;

गएको बैशाख १८ गतेको संयुक्त बजार अनुगमन टोलीले मणी खाद्यान्न सेन्टरको चामल गोदाममा लगाएको शील खोलेको छ । संयुक्त बजार अनुगमनको क्रममा ५ सय ग्रामसम्म कम तौल भएको र दोहोर्याएर पुनः शील गरिएको चामल फेला पारेको थियो । तर अनुगमन टोलीले सो सम्बन्धि मुचुल्का लेख्न व्यस्त भएको मौका छोपी घटनास्थलमै सो खाद्यान्न सेन्टरले चामलको बोराको शील ब्लेडले काटेर प्रमाण नष्ट गर्ने प्रयास गर्दागर्दै अनुगमन टोलीले फेला पारेपछि चामल गोदाममा शील गरिएको थियो । 

बजार अनुगमनका क्रममा कम तौलको चामल र प्रमाण नष्ट गर्दागर्दै भेटिएपछि सो खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणी अधिकारीलाई घरेलु तथा साना उद्योग कार्यालयले २ लाख ५० हजार रुपैया जरिवाना तोकेको थियो । 

""यस सम्बन्धमा तोकिएको जरिवाना रकम बैंक मार्फत बैशाख २२ गते बुझाई कार्यालयलाई सक्कल भौचर नै बुझाईएको र अबदेखि कमी कमजोरी नगर्ने सञ्चालक अधिकारीको प्रतिवद्धता पनि आएपछि शील खोलिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दहालले बताएका छन् । सो स्टोरलाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६१ को घ २ बमोजिम जरिवाना गरिएको दाहालले बताएका छन् ।
संयुक्त अनुगमन टोलीले सो खाद्यान्न सेन्टरबाट म्याद गुज्रिएका (उपभोग्य मिति सकिएको) दाल पनि फेला पारेको थियो । म्याद गुज्रिएका दाललाई भने अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट आजै गरेको छ । 

सञ्चालक अधिकारीले भने, मुसाले चामल खाएर केही तौल कमी भएको र मुसाले चामलको बोरा काटेकाले दोहोर्याएर शील गर्नुपरेको जीकिर गर्दै आएका छन् । सञ्चालक अधिकारी मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान सचिव तथा प्रवक्ता समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*