प्रधानमन्त्री ओली सचिवालय बैठकमा म थाकें, सञ्चो भएन भनेर हिडेका थिए

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार ०१:१२
;

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री फर्किएर नआएपछि आज बसेको सचिवालय बैठकमा कुनै पनि निर्णय हुन नसकेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक उडेर हिडे पछि बैठक निर्णय विहिन बनेको खनालले बताएका हुन् । 

विगत केहि समय देखि नेकपा भित्रको विवाद चुलिएको थियो । शनिबार सामसुम भएको भनिएको विवाद पुनः बल्झिएको छ । गुटगत भेला र बैठकले प्रश्रय पाउन थालेको छ । असन्तुष्टि सीमा पार गरेर अघि बढेको छ ।

बुधबारको सचिवालय बैठकबाट प्रष्ट भएको छ की नेकपा भित्रको विवाद कति छ भनेर । बैठक सुरु भएको २०–२५ मिनेटमा प्रधानमन्त्री ओली उठेर हिँडेका थिए । त्यसपछि उनी फर्किएनन् ।

प्रधानमन्त्री ओली नफर्किए पछि स्थायी कमिटीको प्रस्तावमाथि छलफल गर्न र कार्यसूची तय गर्न बसेको बैठक निष्कर्ष विहीन बन्यो ।

यसै विषयमा नेता खनालले भने आज बैठक नै बस्न सकेन । स्थायी कमिटीको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक चल्दै पनि थियो । प्रधानमन्त्री बीचमा एक्कासी उठ्नुभयो । म थाकें । सञ्चो पनि भएन भनेर हिँड्नुभयो । हामीले एकछिन कुर्‍यौं, उहाँ आउनु भएन । निर्णय अनिश्चित भयो ।

उनले थपे स्थायी कमिटी बोलाइसकिएको छ । सबै सदस्यहरू तयारी हालतमा छन् । यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न उठ्यो । अन्तिममा हामीले तपाईंहरू नै छलफल गरेर निर्णय गर्नुहोस् भनेर दुई अध्यक्षलाई जिम्मा लगाएर हिँड्यौं ।

स्थायी कमिटीको बैठक बिहीबार ११ बजे पार्टी मुख्यालयमा बस्ने तय भएको छ । तर, सचिवालय बैठक नै बस्न नसकेपछि स्थायी कमिटी अनिश्चित भएको खनालले बताएका छन् ।

प्रधानमन्त्री कार्यसूचीमाथि बोल्दै थिए । अचानक बैठकको जरुरी छैन भन्दै बाहिरिएको स्रोतको दाबी छ । प्रधानमन्त्री जुरुक्क उठेर हिँडेपछि बाँकी सदस्यहरू बिलखबन्दमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*