सहकारीले नै तरकारी बेचिदिएपछि मकवानपुरका किसानलाई राहत

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार २०:००
;

सामान्य अबस्थामा मकवानपुरमा उत्पादित तरकारीहरु काठमाडौं, हेटौंडा, पोखरा, नारायणघाट जस्ता शहरमा जाने गरेको थियो । तर लकडाउन भएपछि ती शहरका बजार बन्द छ भने, शहरका मानिस करीब सबैजसो आफ्नो थाकथलो फर्किएपछि शहरमा तरकारीको खपत नहुँदा किसानका तरकारी बारीमै सडेर गएको गुनासो गर्दै आएका थिए । 

मकवानपुरका किसानले उत्पादन गरेका तरकारीहरु जिल्लाको कृषि सहकारी संघले बिक्रीको प्रबन्ध मिलाएको छ । गत चैत्र ११ देखिको लगातारको लकडाउनका कारण हाटबजार बन्दले गर्दा किसानले उत्पादन गरेका तरकारी बारीमै कुहिएर गएको थियो । 

यसै विषयलाई ध्यान दिदैं बागमती प्रदेश सरकारको समन्वयमा जिल्ला सहकारी संघ मार्फत तरकारीहरु मकवानपुरमा रहेका कृषि सहकारी, बचत सहकारीहरुले स्थानीय स्तरमा तरकारी बिक्री गर्ने प्रबन्ध मिलाएको जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटाले बताएका छन् । हेटौंडाकाने पल्पसा हलको परिसरबाट जिल्ला संघले अन्य सहकारीलाई माग अनुसारको तरकारी पठाउँदै आएको छ । संघले किसानलाई दिएको मूल्यमा ढुवानी खर्च, प्याकेजिङ खर्च मात्रै थपेर उपभोक्तालाई बिक्री गर्ने गरेको जनाएको छ । 

बारीबाट उत्पादित तरकारी ढुवानीका लागि बागमती प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले चालकसहित सवारी साधन र इन्धन समेत उपलब्ध गराएको छ । संघले गरेको तरकारी बिक्रीको हालको व्यवस्थापनलाई लकडाउन पछि पनि निरन्तरता दिने बताएको छ । 

हाल मकवानपुरको तरकारी उत्पादनको पकेट क्षेत्र पालुङ्ग, बज्रबाराही, टिष्टुङ्ग,   हाँडीखोलाबाट स्थानीय सहकारीले किसानको तरकारी लिने र जिल्ला सहकारीलाई पठाउने गरेको बताईएको छ भने, जिल्ला सहकारीले मकवानपुर भरिका अन्य सहकारीलाई माग अनुसारको तरकारी पठाउने व्यवस्था मिलाएको अध्यक्ष देवकोटाले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*