हेटौंडामा कुखुराको मासु २ सय ५० रुपैयाँ कायम, बढी लिए कार्वाही हुने  

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार २२:१२
;

हेटौंडा उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको आजको बैठकले कुखुराको मासुको पुरानै मूल्यलाई कायम गरेको छ । समितिका संयोजक उपमेयर मीनाकुमारी लामाको संयोजकत्वमा सरोकारवाला निकायहरुसँगको बैठकले कुखुराको मासु प्रति केजी २ सय ५० रुपैयाँ तोकेको छ । लकडाउनमा कृषकले पालेका कुखुराले बजार नपाएपछि  जिल्लाको कमाण्ड पोष्टको बैठकले केही साता अघि सो मूल्य निर्धारण गरेको थियो । 

हाल ढुवानी भाडा पनि वृद्धि नभएको, कुखुराको दानामा समेत मूल्य वृद्धि नभएको अवस्थामा हालको मूल्यमा वृद्धि गर्नुपर्ने कुनै कारण नदेखिएकाले कायम मूल्यलाई नै निरन्तरता दिनुपर्ने बैठकको निष्कर्ष भएको थियो । समितिले भोलिबाट नै बजार अनुगमन समेत गर्ने बताएको छ । 
तोकिएको मूल्य भन्दा बढी लिएमा प्रादेशिक व्यापार व्यवसाय ऐन वा उपभोक्ता संरक्षण ऐन आकर्षित हुने बैठकमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासुप्रसाद खतिवडाले बताएका छन् । 

बैठकमा विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत देवचन्द्र गर्तौला, उपमहानगरपालिकाका अधिकृत भीम तिमल्सिना, उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल, सञ्चारकर्मीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।   
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*