जो निःसंकोच कोरोनाबाट मृत्यु भएकी महिलाको मलामी गए
धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको खबर शनिबार दिउँसोबाट चैत मासको डढेलो जस्तै फैलिसकेको थियो । सरकारले कोरोनाकै कारण उनको मृत्यु भएको घोषणा नगरेपनि स्थानीय प्रशासनले अस्पतालको रिपोर्टलाई आधार मानेर शव कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरिसकेको थियो । दुई पटक परीक्षण गर्दा पनि कोरोना देखिएपछि अस्पताल र स्थानीय तहले एक खाले तयारी गरिरहेका थिए ।
तैपनि थप पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नआएसम्म सबैमा अन्योल नै थियो । साँझतिर घटना बारे बुझन स्वास्थ्य मन्त्रालयबाट डा. गुणराज लोहनीसहितको टोली धुलिखेल नै पुग्यो । मृतकको शव छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख भएकोले टोलीको सुझावको आधारमा ती महिलाको शव अन्त्येष्टि गर्नुपर्ने भयो ।
शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भयो । त्यसपछि प्रशासनले काभ्रेको एम्बुलेन्स र शव वाहनलाई आग्रह गर्यो । तर, कसैले मानेन् । अब भने काभ्रे प्रशासनलाई आपत पर्यो ।
काभ्रेको सुरक्षा निकायले भक्तपुरसँग सहयोग माग्यो । भक्तपुरमा भने महानगरीय प्रहरी परिसर र विरदल गणले निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएको थियो । भक्तपुर सिद्धपाखरीका ३१ वर्षीय अरुण सैंजु र जेलाका ३० वर्षीय राजेश गैंजुलाई शव व्यवस्थापन गर्ने तालिम दिएर राखिएको थियो । उनीहरु भक्तपुर अस्पतालको चौरमा टेन्ट हालेर लकडाउन सुरु भएदेखि नै बसिरहेका थिए ।
उनीहरु भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने र थप उपचारको लागि चिकित्सकसम्म पठाउँथे । कोभिड शंका लागेका बिरामीलाई त्यही एम्बुलेन्स राखेर ल्याउँथे । साँझ परेपछि अस्तपाल नजिकैको टेन्टमा आराम गर्थे ।
शनिबार भने उनीहरु नेपाली सेनाको विरदल गणका कर्णेल शिव पौडेललाई भेट्न ब्यारेकमै पुगेका थिए । भक्तपुर प्रहरी प्रमुख सविन प्रधान र कर्णेल पौडेल फोनै व्यस्त थिए ।
‘सायद काभ्रेमै कुरा भएको हुनुपर्छ । काभ्रेबाट शव लान गाडी नपाएको सुनेपछि हामी जान्छौं भनेर प्रस्ताव गरें,’ अरुणले भने । यो आपत टार्न नेपाल स्काउटको रोबर लिडर राजेश र स्काउट मास्टर अरुण तयार भए । यो सूचना काभ्रेमा दिइयो । उनीहरुको प्रस्तावले काभ्रेका सुरक्षा प्रमुखलाई पनि राहत मिल्यो ।
‘स्काउटमा लागेर सिकेको तालिमकै आधारमा हामीले विगतमा पनि यस्तो काम धेरै गरेका थियौं,’ अरुणले भने, ‘यसपालीको आँट पनि स्काउटले नै दिएको हो ।’
सेनाले उनीहरुलाई कोरोनाबाट मृत्यु भएको शव कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिएको थियो । शनिबार साँझ साढे साते बजेतिर उनीहरु भक्तपुरबाट धुलिखेल अस्पताल गए । जहाँ कोरोनाका कारण बिहीबार राति १० बजे मृत्यु भएकी महिलाको शव थियो । भक्तपुरबाटै पीपीई सेट लगाएर गएका थिए उनीहरु ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधान र सेनाका कर्णेल शिव पौडेलले उनीहरुको गाडीलाई स्कर्टिङ गरिरहेको थियो । धुलिखेल पुगेपछि अरुण र राजेश शव राखिएको ठाउँ तिर लागे । सुरक्षा निकाय प्रमुखहरु भने अस्पताल बाहिरै बसिरहे ।
‘अस्पतालले प्लास्टिकमा बेरेर राखेको शव स्ट्रेचर माथि राखेको रहेछ । तर, शवबाट बगेको रगत भने भुइँमा चुहिएको थियो,’ अरुणले भने, ‘हामीले दोब्बर र्यापिङ गरेर शवलाई व्यागमा हाल्यौं । चकलेट चेपिङ ट्यापिङ गरेर भुइँमा चुहिएको रगत पनि सफा गर्यौं ।’
उनीहरुले शव गाडीमा राखेर बाहिर आउँदा भक्तपुरबाट गएका सेना र प्रहरी बाहेक काभ्रेको प्रहरी निरिक्षकको टोली पनि स्कर्टिङका लागि तयारी अवस्थामा थिए । अस्पतालकै एउटा गाडीमा मृतक महिलाका श्रीमान बसेका थिए । भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको गाडीले स्कर्टिङ गरेर शव पशुपति लगियो ।
‘अरु सामान्य अवस्था जस्तो अन्तिम संस्कारका कुनै विधि प्रक्रिया भएन,’ अरुणले भने, ‘मृतकका श्रीमान र सेना प्रहरी एक सय मिटर टाढा बसेर हिरिरहनुभयो । हामीले नै लगेर शवदाह गृहमा छिरायौं । स्वीच अन गर्न मात्रै त्यहाँका कर्मचारी खटिए ।’
शव जलाएपछि पीपीई सेट लगाएका मृतककी श्रीमानलाई काभ्रेको धुलिखेल अस्पताल नै फिर्ता पठाए । उनीहरु भने आइसोलेशनमा बस्न सूर्यविनायक डाँडामा रहेको विरदल गण तिर लागे ।
‘गाडीलाई डिसइन्फेक्टेड गर्यौं,’ अरुणले भने, ‘त्यसपछि हामी सैनिक एरिया भित्रै आइसोलेसनमा छौं ।’
विरदल गणबाट तीन सय मिटर पर जंगलमा आइसोलेशन ठाउँ बनाइएको छ । उनीहरुको खानाको व्यववस्था पनि सेनाले गरिरहेको छ । ‘हाम्रो स्वाब निकालेर परीक्षण गर्दा नेगेटिभ आएपछि मात्रै फेरी भक्तपुर अस्पतालको फिबर क्लिनिकमा फर्कन्छौं,’ अरुणले भने ।
बिरामी भन्दा शव बोक्दा सुरक्षित
राजेश भक्तपुरकै आदर्श आजादमा पनि पढाउँछन् । अरुण पनि भक्तपुरकै एभरेष्ट स्कूलमा अनुशासन इन्चार्ज पनि हुन् । उनीहरुसहित आठजना मिलेर ‘रेसक्यू एण्ड अवेरनेस–१६’ नामक संस्था नै खोलेर काम गरिरहेका छन् ।
लकडाउनको अवधिमा भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने अरु व्यवस्थापनमा चार जना खटिएका छन् । उनीहरु आइसोलेसनमा बसेपछि अस्पतालमा नुज किजु र पुनम कर्माचार्यले ज्वरो क्लिनिक सम्हालेका छन् ।
भक्तपुरको बिरदल गणबाट शव व्यवस्थापनको तालिम लिएका थिए भने रेन्जर महाविर गण छाउनीबाट डेडबडी हयाण्डलिङ र डेमोस्ट्रेसनको तालिम लिएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट पीपीई लगाउने तालिम पाएका छन् उनीहरुले ।
आइसोलनमा रहेका अरुण र राजेशको शनिबार बिरामी तथा शव व्यवस्थापनको अनुभव नयाँ भने होइन । उनीहरुले लकडाउनको अवधिमा शंकास्पद बिरामी बोकेर पनि हिँडेका छन् । यस्तै मृत्यु भएकाहरुलाई घाटसम्म पनि लगिदिएका छन् ।
‘आरडीटी पोजेटिभ देखिएका, कोरोनाका शंका लागेका व्यक्तिको पनि यसअघि उद्धार गरिसकेको थिएँ,’ अरुणले भने, ‘बिरामी र कोरोना आशंका गरेको व्यक्ति बोक्नुभन्दा शव बोक्नु सजिलो हुन्छ । किनभने शव त राखेपछि एकै ठाउँमा रहन्छ । आफ्नो हिसाबले व्यवस्थापन गर्न सकिन्छ । बिरामीहरु बोक्दा भने केही गरिहाल्ने हो कि भन्ने तनाव भइरहन्छ,’ उनले भने, ‘सुरक्षा सतर्कता हामीले अपनाएकै हुन्छौं । त्यसैले धेरै डर त लाग्दैन । मान्छे हो अब त पचाइ सकें ।’
निजी गाडीलाई कोभिड एम्बुलेन्स
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष केपी ताम्राकारले प्रयोग गरिरहेको गाडीलाई अरुणले एम्बुलेन्स बनाउन मागेर चलाएका हुन् ।
‘अरुण भाईले यस्तो बेला अरु एम्बुलेन्सले कोभिड लागेको बिरामी र मृत्यु भएको व्यक्तिको उद्धार गर्न गाडी भएन भनेपछि मैले दिएको हो,’ ताम्राकारले भने, ‘गाडी त मैले दिएँ, तेल भने उसले नै व्यवस्थापन गरिरहेको छ ।’
ताम्राकारबाट प्राप्त गाडीलाई विरदल गणका कर्णेल शिव पौडेल र अरुणले मोडिफाई गरेर कोभिड एम्बुलेन्स बनाएका हुन् । यो पाकिस्तानी दुतावासले लिलामी गर्दा ताम्राकारका साथीले किनेको टोयटा सर्फ जीप हो ।
घरमा वृद्ध आमालाई एक्लै छाडेर उद्धार
भक्तपुर दुधपाटी सिद्धपोखरीमा अरुणको घरमा ६२ वर्षीया आमा मात्रै छिन् । लकडाउन भएदेखि नै उनी घर गएको छैनन् । ‘आमासँग फोनमा कुरा भइरहेको छ,’ उनले भने । राजेश पनि सुरुकै दिनदेखि अरुणसँगै छन् । भक्तपुर जेलमा भूकम्पले घर भत्किएपछि उनको बुबा, आमा, दाई, भाउजु र तीन भतिजि लिवालीमा छाप्रो मै छन् ।
स्रोतः कान्तिपुर राष्ट्रिय दैनिक