मकवानपुरमा महिला साइक्लिङ प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरमा पहिलो पटक हेटौंडा जेसिजले महिला साइक्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौंडा अपहिल महिला साइक्लिङ च्यालेन्ज आउँदो मंसिर २० गते आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय स्तरका १२ जना साइक्लिष्टहरुलाई हेटौंडामा उपस्थित गराई मकवानपुरमा नै पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हेटौंडा जेसिजका अध्यक्ष राजदेव बाँनियाले बताए ।
जारी महिला हिंसा विरुद्धको १६ दिने अभियानमा सहयोग पुग्ने र खेलकुद तथा पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बाँनियाले बताए ।
प्रतियोगिता हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाको सिमा क्षेत्रमा रहेको सामरी पुलबाट सुरु भई भिमफेदी गाउँपालिका–१ बुङदोल हुँदै मकवानपुरगढी गाउँपालिका–५ रुम्बा डाँडासम्म ६ किलोमिटरको दुरी कायम गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १८ हजारसहित मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने छ भने द्वितिय र तृतिय हुनेले क्रमशः १२ हजार र ६ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता मकवानपुर साइकल एशोसिएसनको प्राविधिक सहयोगमा हुने छ भने प्रतियोगितामा करिब २ लाख लागत लाग्ने आयोजकको अनुमान रहेको छ ।











