मनहरीमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

मकवानपुर । मनहरीमा आगामी मंसिर २७ गतेबाट अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले आज रजैयामा भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिता सम्बन्धि जानकारी गराएका हुन् ।
मनहरी गाउँपालिकाका ९ वटा वडामा रहेका विभिन्न टिमहरुका बीच प्रतियोगिता हुने जनाईएको छ । समितिका अनुसार सम्बन्धित वडाको सिफारिशमा आएका टिमले सहभागिता जनाउन पाउने र प्रतियोगितामा भाग लिने खेलाडी समेत सोही वडाको नागरिक हुनु पर्ने प्रावधान रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा पालिका अध्यक्ष एकराज उप्रेतीले पछिल्लो समय जित्नका लागि बाहिरबाट खेलाडीहरु ल्याउने प्रचलन भईरहेकाले त्यसलाई निरुत्साहित पार्न वडाको सिफारिस र वडाकै नागरिक हुनुपर्ने प्रावधान राखिएको बताएका छन् । अध्यक्ष उप्रेतीका अनुसार आगामी दिनमा गाउँपलिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिता समेत गर्ने लक्ष्य लिएको बताएका छन् ।
करीब ७ लाख १७ हजार रुपैया अनुमानित खर्च हुने सो प्रतियोगितामा प्रथम् हुनेले १ लाख रुपैया, दोश्रो हुनेले ५० हजार रुपैयासहित शिल्ड, प्रमाणपत्र पाउने र विभिन्न विधागत पुरस्कार समेत रहेको जनाईएको छ ।
पत्रकार सम्मेलनमा पालिकाका कार्यकारी प्रमुख देवराज चौलागाई, खेल सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मदन भण्डारी क्षेत्रीय रङ्गशालामा हुने जनाईएको छ ।