पिएम कप क्रिकेटमा बागमतीको शानदार जित

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले हराएको छ । सोमबार भएको दोस्रो खेलमा बागमती प्रदेशले आफ्नो पक्षमा दोस्रो जित दर्ता गराएको हो ।
जितसँगै बागमती लगातार दोस्रो खेलमा विजयी भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो ।
बागमतीका लागि पृथु बाँस्कोटाले ८४ र आदिल खानले ६३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रनको योगदान गरे ।
बलिङतर्फ सुदूरका नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान दुई–दुई विकेट लिए ।
तीन सय रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको सुदूर २१ ओभरमा एक सय १९ रन बनाउँदा अलआउट भयो ।
सुदूरका लागि नारायण जोशीले अविजित ४४ र अर्जुन साउदले ३१ रन बनाए पनि ६ खेलाडीले एक रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ बागमतीका रामनरेश गिरीले चार विकेट लिँदा नारायण यादवले दुई विकेट लिए ।