पिएम कपमा पुलिसको पहिलो जित

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १४:३५
;

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा सुदूरपश्‍चिम प्रदेशलाई ९ विकेटले हराउदै नेपाल पुलिस क्लबले आफ्नो पहिलो जित दर्ता गराएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्‍चिम प्रदेशले ३३.१ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन बनाएको थियो ।

नेपाल पुलिस क्लबका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान चार विकेट लिएपछि भने सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक बनाएपछि एक सय ११ रनको लक्ष्य नेपाल पुलिस क्लबले १७ ओभरमा एक विकेट गुमाएर पुरा गरे ।

समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब यसअघि पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।

दुई खेलबाट दुई अंक जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ । समूह ‘बी’मा बागमती चार अंकका साथ शीर्ष स्थानमा छ भने लुम्बिनी दोस्रो स्थानमा छ ।

दीपेन्द्रसिंहले ६.१ ओभरमा दुई मेडन राख्दै १० रन दिएर चार विकेट लिए । सागरले १० ओभरमा तीन मेडन राख्दै १८ रन दिएर चार विकेट लिए ।

सुदूरपश्‍चिमका लागि खडक बोहोराले ४० रन बनाए । सञ्जु धमालले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाल पुलिसका सुनिलले ५७ बलमा ६ चौका र दुई छक्कासहित ५३ रन बनाए । ४४ बलमा ९ चौका र एक छक्का प्रहार गरेका कुशल ५१ रनमा अविजित रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*