चलचित्र ‘सूर्यवंशी’को प्रदर्शनमा अन्योलता

बलिउड चलचित्र ‘सूर्यवंशी’का निर्माताले हलवालासँग अत्यधिक सेयर मागेका छन्। बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिकामा निर्माण भएको चलचित्र ‘सूर्यवंशी’का निर्माता रोहित सेट्टी र रिलायन्स इन्टरटेन्मेन्टले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका हुन् ।
निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि फिल्मको प्रदर्शन मिती अन्योलमा परेको छ। आगामी अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको फिल्म रिलिज हुने नहुनेमा निश्चित हुन सकेको छैन।
पटक पटक प्रदर्शन मिती तोकिएको फिल्म ‘सूर्यवंशी’ प्रदर्शन गर्नका लागि निर्माता सेट्टीले हलवालासंग ७० प्रतिशत सेयरसंगै चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पनि अगाडि सारिएका छन् । यो सर्तका लागि भने प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन ।
प्रदर्शकहरु फिल्म रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएको बताइएको छ भने ७० प्रतिशत शेयर दिन नसक्ने बताउँदै आएका छन् ।
यता प्रदर्शकहरु ७० प्रतिशत शेयरको मागले आफूहरुलाई अन्यायमा परेको बताउँछन् ।
लकडाउन अगाडि निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर प्राप्त गर्दै आएका थिए । फिल्मका निर्माताले भने लकडाउनको समयमा ओटीटी प्लेटफर्ममै रिलिज नगरेर हलमा नै रिलिज गर्न पर्खिएको भन्दै हलवालासँग ७० प्रतिशत शेयरको मागलाई जायज रहेको बताएका छन् ।
लकडाउनले थलिएको फिल्मी बजार यहि फिल्मका कारण हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यसैले पनि हलवाला यो फिल्म प्रद्रर्शन गर्नका लागि आतुर देखिएका छन् ।
लकडाउनमा हलवाला तथा फिल्मीकर्ता मारमा परेको भन्दै भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएको छ। जसका कारण पनि निर्माता र प्रदर्शक उत्साहित देखिएका छन् ।