सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, शिक्षक आन्दोलन स्थगित

मकवानपुर/सरकार र २९ दिन आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । बुधबार साँझ भएको सहमतिसँगै शिक्षक महासंघले गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलन स्थगित भएको छ ।
सरकार र शिक्षक महासंघबिच भएको सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदन गरेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।
मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई सरकारद्वारा निर्धारित न्यूनतम पारिश्रमिक उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।
शिक्षकका माग पूरा गर्दा सरकारलाई ८ अर्ब दायित्व थपिने समेत शिक्षामन्त्री पन्तले जानकारी दिए ।
सहमतिपछि अब शिक्षकहरु विद्यालय फर्कने शिक्षा मन्त्रालयले जनाएको छ । नेपाल शिक्षक महासंघले पनि २९ दिनदेखि जारी शैक्षिक हडताल सहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको जनाएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको गरेको उल्लेख गरेका हुन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघले शिक्षकहरुलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ । यद्यपि तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।
विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै गत चैत २० गतेदेखि महासंघले सडक प्रदर्शन थालेको थियो ।
२९ देखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्तामा समिति सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे, एमाले सचेतक महेश बर्तौलाले चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गराउन प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विधेयक समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलको चरणमा रहेको छ । चैत ८ गते उपसमिति गठन भएको थियो । उपसमितिलाई वैशाख २३ गतेभित्र प्रतिवेदन पेस गर्न समितिले समयसिमा तोकेको छ ।