बागमती प्रदेशमा मनाइयो भाषा दिवस (भिडियोसहित)

हेटौडा न्युज
२५ बैशाख २०८२, बिहीबार ०७:३२
;

मकवानपुर । नेपालको संविधानको धारा ३२ मा भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ । यसमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने व्यवस्था गरिएको छ ।

देश संघीयतामा गएपछि प्रदेशमा रहेका मातृभाषाहरुको विकास, प्रवद्र्धन तथा पुस्तान्तरणको उद्देश्यले विभिन्न कार्यहरु हुने गरेको छ । सोही व्यवस्था अनुसार बागमती प्रदेश सरकारले संवत् २०८० कात्तिकमा प्रदेशसभाबाट प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराई कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा अघि बढेको थियो । बागमती प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ भाषा र नेपाल भाषाको संरक्षण, सम्बद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पँहुच र प्रत्याभूतिलाई अभिवृद्धि गरी बहुजातीय र बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्ने उद्देश्य अनुसार सो ऐन जारी गरिएको हो ।

प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको नेतृत्वमा ऐनमा उल्लेख भए अनुसार राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा उक्त ऐन कार्यान्वयनमा ल्याइएको थियो । उक्त व्यवस्था अनुसार प्रदेश सरकारले ऐन जारी गरेको मितिको १८० औं दिन अर्थात २०८१ बैशाख २४ मा पहिलो पटक काठमाडौंको बसन्तपुरमा भव्य कार्यक्रम मार्फत् भाषा ऐन कार्यान्वयन भएको उद्घोष गरेको थियो । सोही दिनको स्मरण गर्दै प्रदेश सरकारले हरेक वर्ष बैशाख २४ मा भाषा दिवस मनाउने गरेको छ ।

यस वर्षपनि बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा नेपालीसहित नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा मनाउन हेटौंडामा एक कार्यक्रमको आयोजना गरेको थियो । भाषा दिवसको अवसरमा प्रदेशभित्र सार्वजनिक विदा दिएर संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा बुधबार बिहान हेटौँडामा प्रभात फेरीको आयोजना गरिएको थियो भने प्रदेश भाषा दिवसको अवसरमा काठमाडौँसहित विभिन्न जिल्लामा पनि कार्यक्रमहरु भएका थिए ।

हेटौंडामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीसमेतको सहभागितामा नेवारी, तामाङ, मगर समुदायको मौलिक पोशाक, बाजागाजासहित सहभागी भएका थिए । पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान समेत गरिएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको अपनत्व हुन गरी भाषा तथा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले नागरिकको पहिचान र संस्कृतिलाई स्थापित गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए । प्रदेश भाषा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषिक कारण हुने द्विविधालाई प्रदेश सरकारले केही हदसम्म निराकरण गरेको बताए । उनले भाषा तथा संस्कृतिमा आम नागरिकहरुको अपनत्व हुनुपर्ने बताए । मुख्यमन्त्री लामाले संविधानले प्रदत्त गरेको अधिकार अनुरुप नै प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिएको दावी गरे । सरकारी कामकाजको भाषा सम्बन्धी ऐनको नियमावाली बनाउने प्रक्रिया समेत अगाडि बढिसकेको उनको भनाई छ । मुख्यमन्त्री लामाले संस्कृति, भाषा, पहिचान प्रदेश सरकारको सम्पत्ती भएकोले त्यसको संरक्षण र प्रवद्र्धनमा सरकार गम्भीर रहेको उनले बताए ।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले संघीयता कार्यान्वयनमा भाषा सम्बन्धी ऐन महत्वपूर्ण रहेको बताए । उनले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयनमा ल्याउने बागमती प्रदेश पहिलो भएको उनको भनाई छ । मन्त्री ठकुरीले प्रदेशमा बोलिने सम्पूर्ण भाषाको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको बताए । प्रदेश सभामा नेपाल भाषा र तामाङ भाषाका अनुवादक समेत नियुक्त गरिसकिएको उनको भनाई छ । मन्त्री ठकुरीले प्रदेश सरकारको गतिविधि, मौलिक लेख रचना समेटेर त्रैमासिक रुपमा तामाङ र नेपाल भाषामा बुलेटिन प्रकाशन, प्रशारण गर्दै आइरहेको उने बताए । बागमती प्रदेशका सरकारी कार्यालयहरुमा रहेका साईनबोर्डमा समेत नेपालीसहित नेपाल भाषा र तामाङ भाषाका लिपि लेखिएको छ भने, प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषाका विज्ञहरुलाई नियुक्त गरी भाषा सहित्यको संरक्षण र सम्वद्र्धनमा अघि बढ्ने योजना अघि सारेको छ । यस्ता कार्यहरुले नागरिकहरुका भाषा, पहिचान, संस्कृतिको विकास, परम्पराको निरन्तरता हुने विश्वास समेत लिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार मुलुकमा १४२ जातजाति छन् भने १२४ भाषा बोलिन्छन् । बागमती प्रदेशमा तामाङ भाषा बोल्नेको जनसङ्ख्या ११ लाख ४४२ जना र नेपाल भाषा जनसङ्ख्या सात लाख २२ हजार ९४३ जना रहेका छन् ।

(भिडियो)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*