कर्णालीमा पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड

हेटौडा न्युज
५ भाद्र २०७९, आईतवार १२:२०
;

पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिक १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाकलगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ खर्च भएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहरूको पारिश्रमिकभन्दा कर्मचारीको पारिश्रमिकमा बढी रकम खर्च हुने गरेको छ। गत आवमा कर्मचारीको पारिश्रमिकमा मात्रै १ अर्ब १ करोड ७ लाख ९० हजार ३६२ रुपैयाँ सकिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार अहिले आठवटा मन्त्रालय, प्रदेशसभा सचिवालय र मातहतका कार्यालयमा गरी १ हजार ७२२ जना कर्मचारी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा २ हजार ८६२ कर्मचारीको दरबन्दी छ। तर दरबन्दीभन्दा न्यून कर्मचारी कार्यरत छन्।

यस्तै, समीक्षा अवधिमा प्रदेश सरकारका पदाधिकारीहरूको पारिश्रमिकमा ४ करोड ६ लाख ७१ हजार ६६० रुपैयाँ खर्च भएको छ। मुख्यमन्त्री, ७ वटा मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, योजना आयोगका पदाधिकारीहरूको पारिश्रमिकमा उक्त रकम खर्च भएको हो।

पदाधिकारीको बैठक भत्तामा मात्रै एक वर्षमा १३ लाख २३ हजार ५०० भन्दा बढी रकम सकिएको छ भने पदाधिकारीको अन्य सुविधामा १ करोड ८७ लाख ५५ लाख १२० र अन्य भत्तामा २१ लाख ५५ हजार ८९९ रुपैयाँ खर्च भएको छ।

पदाधिकारीको सुविधा अन्तर्गत मुख्यमन्त्रीले अतिथि सत्कार स्वरुप मात्रै २० हजार, मन्त्रीले १५ हजार पाउने गरेका छन्। विदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर र मन्त्रीहरुले २ सय अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ।

यस्तै सभामुखले अब ३५ सय सञ्चार खर्च पाउँछन् भने विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेशसभा सदस्यले तीन हजारका दरले मासिक सुविधा पाउने छन्।

लेखा नियन्त्रक मानबहादुर बमका अनुसार गत एक वर्षमा पोसाकमा मात्र २ करोड ४० लाख ९१ हजार ६०० रुपैयाँ खर्च भएको छ। उनका अनुसार प्रति कर्मचारीले वर्षमा १० हजार पोशाकका लागि रकम पाउँछन् । यस्तै स्थानीय भत्ता बापत ७ करोड ४९ लाख ४३ हजार १०२ रकम खर्च भएको छ भने महँगी भत्ता बापत ४ करोड ९ लाख २१ हजार ६५० रुपैयाँ सकिएको छ।

एक वर्षमा कर्मचारीको बैठक भत्तामै ८२ लाख ३८ हजार ७७२ रुपैयाँ सकिएको छ भने कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा १५ करोड २० लाख ६९ हजार ७१४ र अन्य भत्तामा ४ करोड १४ लाख २२ हजार १८४ रुपैयाँ खर्च भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*